२०८३ भाद्र २३ गते मङ्गलवार

महायज्ञबाट संकलित रकमबाट २९ लाख लागतमा निर्मित सभाहलको उद्घाटन

दाङ, २३ भदौ । घोराही उपमहानगरपालिका–७ सौडियारस्थित श्री माध्यमिक विद्यालयमा श्रीमद्भागवत ज्ञान महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको नवनिर्मित सभाहलको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले रिबन काटेर सभाहलको उद्घाटन गर्नुभएको हो। उत्तरवाहिनी क्षेत्र स्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत मावि (गुरुकुल)का छात्रहरुबाट स्वस्तीक वाचन गरिएको थियो भने कार्यक्रममा रसुवाको बाढिमा परेर ज्यान गुमाउनेहरुको सम्झनामा मौनधारणा र श्रद्धाञ्जलि ब्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गर्नुका साथै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको थियो । करिब २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सभाहल विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको विद्यालयले जनाएको छ।

महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले महायज्ञमा दान गरिएको समुदायको सहयोग र विद्यालयको नेतृत्वमा निर्माण भएको सभाहलले विद्यालयको शैक्षिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले महायज्ञबाट संकलित रकमलाई पूर्वाधार निर्माणमा लगानी गरी विद्यालयको दीर्घकालीन विकासमा उपयोग गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महायज्ञ अनुगमन समितिका संयोजक भीमप्रकाश खड्काले महायज्ञका क्रममा प्राप्त सहयोगलाई विद्यालयको आवश्यकता र प्राथमिकताका आधारमा उपयोग गर्नुपर्ने विषयमा आफूहरूले निरन्तर अनुगमन गरेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको विकासमा अभिभावक, स्थानीय समुदाय, दाता तथा पूर्व व्यवस्थापन समितिको निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै महायज्ञ दाता पहिचान समितिका संयोजक भूपबहादुर डाँगीले महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगदाताप्रति आभार व्यक्त गर्दै दाताहरूको सहयोगबाट निर्माण भएको सभाहाल विद्यालय परिवारका लागि महत्वपूर्ण सम्पत्ति बनेको बताउनुभयो। उहाँले महायज्ञबाट प्राप्त सहयोगलाई विद्यालयको भौतिक तथा शैक्षिक विकासमा प्रयोग गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो। घोराही उपमहानगरपालिका–७ का वडा अध्यक्ष खोपिराम चौधरीले सामुदायिक विद्यालयको विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सभाहल निर्माणले विद्यालयलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक भौतिक पूर्वाधार निर्माणमा वडा तथा समुदायको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकाससँगै श्रीमद्भागवत ज्ञान महायज्ञ सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईसहित निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्यहरू, निवर्तमान शिक्षक–अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवरसहित निवर्तमान शिक्षक–अभिभावक संघका सदस्यहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो।

त्यसैगरी सभाहल उपभोक्ता समितिका अध्यक्ष मंगलराम डाँगी, इन्जिनियर मदन भण्डारी तथा दानवीर दाता खिमबहादुर बस्नेतलाई पनि सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो। कार्यक्रम विद्यालयका निमित्त प्रधानाध्यापक नन्द वलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नुभएको थियो। महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको सभाहलले विद्यालयमा सभा, बैठक, शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा समेत सभाहालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।