रुकुम, ६ भदौ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले विद्युत् महसुलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनुका साथै जनसहभागितामा ३० प्रतिशत ब्याजदरको प्रावधान राखेर आम नागरिकमाथि थप आर्थिक भार थोपरेको बताउनुभएको छ।
रुकुमको मुसिकोटस्थित खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खानेपानीजस्तो अत्यावश्यक सेवाको व्यवस्थापनमा सरकारले उपभोक्तामैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले खानेपानी संस्थाहरू सञ्चालन तथा पूर्वाधार निर्माणका क्रममा विद्युत् महसुल, ब्याजदरलगायतका आर्थिक दायित्व बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने बताउनुभयो। खानेपानी सेवा सहज, सुलभ र दिगो बनाउन राज्यले आवश्यक सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा अन्य वक्ताहरूले खानेपानी मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा भएकाले यसको दिगो व्यवस्थापनका लागि सरकार, स्थानीय तह, उपभोक्ता र सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
उनीहरूले मुहानबाट जथाभावी रूपमा आफूखुसी पाइप जडान गर्ने प्रवृत्तिका कारण खानेपानी व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको भन्दै उपभोक्ताले संस्थासँग समन्वय गरेर मात्र पानीको उपयोग गर्नुपर्नेमा जोड दिए। मुहान तथा खानेपानीका स्रोतको संरक्षण र समानुपातिक वितरणमा समेत सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो।
संस्थाका अध्यक्ष टोपबहादुर विकको अध्यक्षतामा सम्पन्न अधिवेशनले महेन्द्रराज गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमितिले संस्थाको सेवा विस्तार, खानेपानीको नियमित तथा गुणस्तरीय आपूर्ति र मुहान संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।





