२०८३ साउन २७ गते बुधवार

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपा सल्यानद्वारा विभिन्न स्थानमा वृक्षारोपण

सल्यान २७ साउन । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला तथा स्थानीय तहका समितिहरूले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

छत्रेश्वरी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थल छायाछेत्र मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। त्यसैगरी शारदा नगरपालिका–१३ मा रहेको हिमदृश्य पार्क र शारदा–१४ स्थित भाइरल डाँडा भगवती पार्कमा पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको रास्वपाले जनाएको छ।कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षणसँगै सार्वजनिक तथा पर्यटकीय स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएको रास्वपाका युवा विभाग सल्यानका संयोजक लोकनाथ योगीले तुल्सीपुर खबरलाई जानकारी दिनुभयो।

संयोजक योगीका अनुसार रास्वपा सल्यानले आगामी दिनमा पनि युवाहरूको सक्रिय सहभागितामा वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरिएको वृक्षारोपणले युवाहरूलाई सामाजिक तथा वातावरणीय अभियानमा जोड्नुका साथै हरियाली प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया