दङ्गीशरण, २५ साउन। “अबको सामुदायिक वन स् युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस–२०८३ दङ्गीशरण गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ।तिलगंगा सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा ग्रीन इन्टिलिजेन्स र ग्रीन फाउन्डेसन नेपालको समन्वय तथा स्थानिय बन महासङको आयोजना भएको कार्यक्रममा फलफूल तथा जडीबुटीका बिरुवा वृक्षरोपण गरिएको हो। तिलगंगा सामुदायिक वन उपभोक्ता समूह दङ्गीशरण गाउँपालिका–१ र २ को क्षेत्रमा कार्यक्रम आयोजना गरिएको थियो।
सामुदायिक वनका अध्यक्ष झरेन्द्र केसीको अध्यक्षता एबम बागमती प्रदेश सभा सदस्य भारती पाठक प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथि पाठकले सामुदायिक वनको संरक्षणसँगै यसको दिगो उपयोगमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वन संरक्षणमा युवाको अर्थपूर्ण सहभागिता बढाउँदै वनलाई रोजगारी, उद्यमशीलता र हरित अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा बिशिस्ट अतिथी ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वन केवल काठ–दाउराको स्रोत मात्र नभई स्थानीय समुदायको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताउनुभयो। उहाँले फलफूल, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको उत्पादन र बजारीकरणमार्फत वनबाटै आम्दानी सिर्जना गर्न सकिने उल्लेख गर्दै युवालाई वनमा आधारित उद्यमतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय वन महासंघ दङ्गीशरणका अध्यक्ष शोभाकर न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसनका उद्यम सहजकर्ता गणेश भण्डारीले गर्नुभएको थियो।कार्यक्रममा वन संरक्षण, वृक्षरोपण, जैविक विविधताको संरक्षण, वनमा आधारित उद्यम विकास तथा सामुदायिक वनको दिगो व्यवस्थापनबारे चर्चा गरिएको थियो। साथै, सहभागीहरूले वृक्षरोपण गर्दै हरित र समृद्ध सामुदायिक वन निर्माणमा सामूहिक प्रतिबद्धता जनाएका थिए।





