२०८३ साउन २ गते शनिवार

राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, मट्टीतेल खन्याएर आत्मदाह प्रयास

सप्तरी, २ साउन । सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरूले आन्दोलन गरेपछि कारागार परिसर तनावग्रस्त बनेको छ।राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको तथा कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि अवस्था थप तनावपूर्ण बनेको थियो। सोही क्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयास हुन थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।राजबिराज नगरपालिका–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलको नाममा पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्।यता, रकम असुलीको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएसँगै ‘बी ब्लक’का कैदीबन्दीमाथि कुटपिट भएको आरोप पनि लगाइएको छ।

घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न समेत रोक लगाइएको थियो।जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारभित्र शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रवेश गर्न खोज्दा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको पुष्टि गरेका छन्। उनका अनुसार हाल समझदारी र वार्तामार्फत अवस्था सामान्य बन्दै गएको छ।प्रमुख जिल्ला अधिकारी थापाले ‘बी ब्लक’का चौकीदार राम रिझनले कैदीबन्दीप्रति समान व्यवहार नगरेको आरोपका कारण विवाद उत्पन्न भएको र त्यसपछि स्थिति तनावपूर्ण बनेको बताएका छन्।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया