२०८३ असार ३० गते मङ्गलवार

वर्षा र पहिरोको जोखिम बढेपछि काठमाडौंबाट बाहिरिने सबै प्रमुख नाका बन्द

फोटो एआइ

काठमाडौं, ३० असार। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा लामो दूरीका सवारी साधन सञ्चालन रोकिएको छ। यात्रु बोकेका बस तथा अन्य सार्वजनिक सवारीलाई बसपार्क र सम्बन्धित होल्डिङ क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार नागढुङ्गा, साँगा तथा फर्पिङ हुँदै बाहिरिने सबै प्रमुख मार्गमा लामो दूरीका सवारीसाधन तत्कालका लागि सञ्चालन गर्न रोक लगाइएको हो। आइतबार रातिदेखि लागू गरिएको रात्रिकालीन रोकलाई सोमबार बिहान पनि निरन्तरता दिइएको छ।

चितवनको केराबारीतुइनखोला क्षेत्रमा पहिरो खसेपछि नागढुङ्गा–मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैबीच, बीपी राजमार्गअन्तर्गत रोशी खोला क्षेत्रमा पानीको बहाव बढ्नुका साथै मंगलटार आसपास लेदोसहितको पहिरो गएपछि उक्त मार्ग हुँदै हुने आवागमन पनि बन्द गरिएको छ। त्यसैगरी, फर्पिङ–फाखेल–सिस्नेरी–हेटौंडा सडकखण्डमा पनि सवारी सञ्चालन रोकिएको छ। कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि उक्त सडकसमेत अवरुद्ध बनेको छ।

ट्राफिक प्रहरीका अनुसार सडकको अवस्था, वर्षाको तीव्रता तथा पहिरोको जोखिमको निरन्तर मूल्याङ्कन गरेर मात्र सवारी सञ्चालन खुलाउने वा थप रोक लगाउनेबारे निर्णय गरिनेछ। यात्रुलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

उता, जिल्ला प्रशासन कार्यालय चितवनले पनि पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, सडक अवरोध र नदीमा जलस्तर बढ्ने जोखिम कायम रहेकाले सतर्कता अपनाउन सुरक्षा निकायले सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया