२०८३ असार १८ गते बिहिवार

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद सहित ६ जना मध्ये ३ जनालाई जन्मकैद

सांकेतिक तस्विर

काठमाण्डौ, १८ असार । प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेश प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मा सहित ६ जनालाई पाँच वर्ष कैद तथा तीन जनाको जन्मकैद सजायलाई सदर गरेको छ । कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैदको सजाय सुनाएको हो ।

यस्तै, प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ । अदालतका अनुसार मृतक असई थमन विकको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ ।

पूर्वसांसद महतोसहित पाँच वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सहअभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो ।असई थमन विकको २०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया