तुलसीपुर, १४ असार । वन तथा वातावरणसँग सम्बन्धित समसामयिक विषय, चुनौती र सञ्चार माध्यमको भूमिकाबारे छलफल गर्न पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुर मिडिया प्रालि तुलसीपुरको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा आईतवारतुलसीपुरमा आयोजित कार्यक्रममा वन तथा वातावरण संरक्षणमा सञ्चार क्षेत्रको भूमिका, समाचार सम्प्रेषणका चुनौती तथा सरोकारका विषयमा व्यापक छलफल गरिएको थियो।
प्रालिका अध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षता एवं डिभिजन वन कार्यालय दाङका प्रमुख विसिन्द्रराज सुवेदीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले वन संरक्षण, जैविक विविधता, वन व्यवस्थापन तथा वातावरणीय चुनौतीबारे प्रकाश पार्दै यिनको संरक्षणमा सञ्चार माध्यमले तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार गजेन्द्र बोहराले वन तथा वातावरणसम्बन्धी समाचार संकलन, तथ्य पुष्टि र प्रभावकारी प्रस्तुतीकरणका विषयमा प्रस्तुती गर्नुभएको थियो। अन्तरक्रियाका क्रममा पत्रकार दीपक बोहरा, वंशीकुमार शर्मालगायत सहभागीहरूले वन तथा वातावरणसम्बन्धी समाचारलाई थप अनुसन्धानमूलक, तथ्यमा आधारित र जनचेतनामूलक बनाउनुपर्ने सुझाव दिएका थिए। कार्यक्रमको सहजीकरण प्रालीका सदस्य उमा भण्डारीले गर्नुभएको थियो ।






