भालुवाङ ११ असार । दाङको भालुवाङबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका–१ आँपखोलीमा लागुऔषध ब्राउन सुगर सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङले छापा मार्दा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ नयाँ बसपार्क निवासी २८ वर्षीय योगेश पौडेल र आँपखोली निवासी २१ वर्षीय राज विश्वकर्मा रहेका छन् ।
प्रहरीले असार ९ गते दिउँसो करिब ३ बजेको समयमा राज विश्वकर्माको घरमा खानतलासी गरेको थियो। सो क्रममा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । प्रहरीले दुवै जनाको शरीर तलासी लिने क्रममा योगेशको साथबाट कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको शुद्ध तौल ६२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ ।
बरामद पदार्थलाई लागुऔषध ब्राउन सुगर भएको आशंकामा दुवै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा दाङ जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको बताएको छ ।






