

तुलसीपुर, २३ जेठ । दाङको तुलसीपुरमा कृषि हाटबजार स्थलको सरसफाइ तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको पहिलो चरणअन्तर्गत पातुखोलाको किनारमा रहेको कृषि हाटबजार स्थलको सरसफाइ गरिएको थियो। सरसफाइ अभियानबाट करिब ३ क्विन्टल फोहोर संकलन भएको थियो, जसलाई तुलसीपुर उपमहानगरपालिकाको ट्याक्टरमार्फत उचित व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, व्यवसायी, स्थानीय बासिन्दालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी दोस्रो चरणअन्तर्गत तुलसीपुर बसपार्क क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा खाना पकाउने क्रममा ग्यास चुहावट (लिग) भएमा अपनाउनुपर्ने सावधानी, आगो ताप्ने वा अन्य कारणले शरीरमा आगो लागेमा त्यसलाई सुरक्षित रूपमा निभाउने उपाय तथा कुनै खानेकुरा घाँटीमा अड्किएमा प्राथमिक उद्धार कसरी गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो।
विपद् जोखिमसम्बन्धी नमूना अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोग रहेको थियो।
महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली तथा तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीलगायत वक्ताहरूले प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनाहरू पूर्वसूचना बिना नै हुन सक्ने भएकाले त्यस्ता जोखिमबाट जोगिन प्रत्येक नागरिक सचेत, सजग र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता जनचेतनामूलक तथा व्यावहारिक अभ्यास कार्यक्रमले समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




