२०८३ जेष्ठ २१ गते बिहिवार

छुवाछूत मुक्त राष्ट्र घोषणा भएको २० वर्ष पुरा, राष्ट्रपतिद्धारा शुभकामना सन्देश

फोटो फाईल

काठमाण्डौ, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाले भन्नुभयो“यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवद्र्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।”

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउँने गरिन्छ । राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गर्नुभएको छ ।

जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि समाजका सबै तहरवर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया