२०८३ बैशाख २ गते बुधवार

विज्ञापन होइन, सत्य नै पत्रकारिताको आधार

कुनै पनि सञ्चार माध्यम र मिडियाकर्मीको मूल धर्म सत्य, निष्पक्ष र जिम्मेवारी पत्रकारिता हो । समाजको ऐना र राज्यको चौथो अंगका रुपमा मानिने मिडिया र मिडियाकर्मीले सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार,सुचना र सन्देश सम्प्रेषण गर्नु उसको दायित्व र कर्तव्य हो ।संन्चार माध्यमले मुलुकमा विगतदेखि नै परिवर्तनका लागी आन्दोलन, मानव अधिकार र लोकतन्त्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको ईतिहासहरु छन् । मुलुक परिवर्तनमा संन्चार माध्यमको अहम भुमिका छ ।

यसका थुप्रै उदाहरणहरु पनि छन् ।तर मुलकुमा संन्चार माध्यमको दिगोपनको आधार आर्थिक स्रोत नै हो । कुनै पनि संचार माध्यमको मुख्यत आर्थिक श्रोत भनेकै सरकारी तथा अर्धसरकारी र निजि विज्ञापनमा टिकेको हुन्छ ।यद्यपी विज्ञापन र समाचार दुई फरक विषय हुन् । तर विज्ञापन नदिएको झोकमा कसैलाई बदनाम गर्नु जति गलत हो भने विज्ञापन दिएको आधारमा कसैको कमजोरी लुकाउनु पनि उत्तिकै आपत्तिजनक विषय हो ।

सञ्चार माध्यमले कानुन विपरीत गतिविधि, सामाजिक विकृति वा सार्वजनिक हितसँग जोडिएका विषयमा निर्भीकतापूर्वक प्रश्न उठाउनै पर्छ । त्यहाँ विज्ञापनदाता–मिडिया सम्बन्ध होइन, पेशागत नैतिकता सर्वोपरि हुनुपर्छ ।समस्या त्यतिबेला सुरु हुन्छ, जब विज्ञापनलाई सहयोग होइन,कृपा वा दबाबको साधनझैँ व्यवहार गरिन्छ । यस्ता प्रवृत्तिले स्वतन्त्र पत्रकारिता माथी नै प्रश्न उब्जाउछ ।

संचारकर्मीले हरेक सार्वजनिक जनचासोका विषयमा चासो राख्नु र आवाज उठाउन पाउने अधिकारभित्र पर्छ । तर विषयबस्तु संचारमाध्यम मार्फत सम्प्रेषण गर्न मिल्ने र नमिल्ने त्यो भनेको फरक पाटो हो । जनचासो र गुनासोलाई समाचारका रुपमा उजागर गर्ने क्रममा पत्रकारमाथि हुने दुव्र्यवहार, धम्की र चरित्रहत्या प्रयासहरू गम्भीर चिन्ताको विषय हुन् ।पत्रकारिता तथ्यमा रहेर बोल्ने पेशा हो । विज्ञापन, दबाब वा व्यक्तिगत स्वार्थले यसको मार्गदर्शन गर्न सक्दैन । पत्रकारले कुनै पनि सार्वजनिक सेवा संग जोडिएका विषयमा प्रश्न उठाउनु अपराध होइन, कर्तव्य हो ।

यद्यपी तथ्यमा आधारित रिपोर्टिङलाई …विज्ञापन मागेको आरोप लगाएर ढाकछोप गर्नु प्रेस स्वतन्त्रतामाथिको सीधा प्रहार हो ।पत्रकारिताको मूलधर्म नै सत्यको खोज र सार्वजनिक हितको संरक्षण हो । स्वस्थ समाज त्यही हो, जहाँ प्रशंसा र आलोचना दुवैलाई समान रूपमा ग्रहण गरिन्छ । कमजोरीलाई दबाउने होइन, सुदृढ बनाउने जिम्मेवारी हो । राम्रो समाचारमा खुसी र कमजोरी उजागर हुँदा आक्रोशित हुने प्रवृत्तिले सुधारको बाटो बन्द गर्छ ।

मिडिया र मिडियाकर्मीले निर्भीकता, निष्पक्षता र जिम्मेवारीलाई आफ्नो आचरणको आधार बनाउँदै तथ्यको पक्षमा उभिनैपर्छ । जब सत्य बोल्दा आवाज कमजोर हुन्छ भने समाज नै भ्रमित बन्छ तर जब सत्य बलियो हुन्छ, त्यहीँबाट सत्यको जित अनि सचेत र समुन्नत समाजको बाटो खुल्छ ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया