दाङ । तुलसीपुरस्थित सजना मिष्ठान भण्डार (होटल) को भान्सामा सरसफाइसम्बन्धी सार्वजनिक समाचार तथा त्यससँग जोडिएको पत्रकारमाथिको सामाजिक दुव्र्यवहारप्रति तुलसीपुर खबर डटकमको गम्भीर ध्यानाकर्षण भएको छ । डिजिटल पत्रिका तुलसीपुर खबरका प्रकाशक ओपेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति भए खण्डन गर्ने र चित्त नबुझे प्रेस काउन्सिल मार्फत कानुनी प्रकृयामा जाने प्रकृया हुँदाहुँदै मिष्ठान भण्डार सञ्चालक ध्रुवराज पाण्डेद्वारा सामाजिक सञ्जालमा विज्ञापनसँग जोडेर लगाइएको आरोप तथा तुलसीपुर उद्योग वाणिज्य संघद्वारा जारी विज्ञप्तिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
समाचारको विषयलाई लिएर गरिएको वक्तव्यबाजी, पत्रकारमाथिको दुव्र्यवहार तथा प्रहरीसम्म पुगेर दिइएको निवेदनप्रति हामी घोर भ्रत्सना गर्दै निन्दा र खेद प्रकट गर्दछौ जारी विज्ञप्तीमा भनिएको छ । सेवाग्राहीको गुनासो उजागर गर्ने क्रममा पत्रकार चेतन वली र माधव दहालमाथि गरिएको दुव्र्यवहार, धम्कीपूर्ण अभिव्यक्ति तथा गैरजिम्मेवार प्रतिक्रिया प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादा विपरीत भएको विज्ञप्तीमा उल्लेख छ ।
सार्वजनिक सेवा प्रदान गर्ने स्थानका रूपमा होटलमा सरसफाइ र गुणस्तरबारे चासो राख्नु तथा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु कानुनसम्मत र आवश्यक कार्य हो । खाद्य स्वच्छताजस्तो संवेदनशील विषयलाई सुधार गर्नुको सट्टा पत्रकारमाथि कपोकल्पित आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास हुनु दुर्भाग्यपूर्ण छ । यदि सामाजिक सञ्जालमा गरिएका आरोपहरू सत्य हुन् भने त्यसका प्रमाण सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौ ।
यसैबीच, तुलसीपुर उद्योग वाणिज्य संघद्वारा जारी विज्ञप्तीमा “समाचार लेखे खबरदार” भन्ने आशयका अभिव्यक्तिहरू प्रेस स्वतन्त्रताको भावना विपरीत छन् । यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनलाई कमजोर बनाउने खतरा रहन्छ । अतः सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित, जिम्मेवार र तथ्यपरक ढंगले प्रस्तुत हुन अनुरोध गर्दछौं । तुलसीपुर खबर डटकम सधैं सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहनेछ ।












