काठमाण्डौ, १० चैत । पृथ्वीनारायण साना शहरी खानेपानी संस्थालाई गोरखा नगरपालिकाले खारेज गर्ने तयारी गरेको भन्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिका अन्तर्गतको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको मिति २०८२ चैत ८ मा बसेको बैठकले खानेपानी संस्था’लाई खारेज गरी सम्पूर्ण जिम्मेवारी आफैंले लिने निर्णय गरेपछि महासंघले उक्त कदमप्रति कडा आपत्ति जनाउँदै निर्णय तत्काल फिर्ता नलिए कानुनी लडाइँमा जाने चेतावनी दिएको छ ।
महासंघका अध्यक्ष खेमराज वलीले आज एक प्रेस विज्ञेप्ती जारी गर्दै नगरपालिकाले चालेको कदम गैरकानुनी, अव्यवहारिक र अस्वीकार्य भएको ठहर गर्नुभएको छ । “‘खानेपानी तथा सरसफाइ ऐन, २०७९’ ले स्थानीय तहलाई समुदायमा आधारित उपभोक्ता संस्थाहरूलाई एकतर्फी रूपमा खारेज गर्ने अधिकार दिएको छैन । उपभोक्ता समितिहरू समुदायको स्वामित्व, सहभागिता र उत्तरदायित्वमा आधारित संरचना हुन्, जसलाई बिना प्रक्रिया खारेज गर्नु कानुन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ ।” अध्यक्ष वली द्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।




