तुलसीपुर, ९ असोज । जेनजी आन्दोलनका क्रममा आगलागीपछि ठप्प बनेको मालपोत कार्यालय तुलसीपुरको सेवा शुक्रबारदेखि पुनः सञ्चालन हुने भएको छ। करिब १६ दिन रोकिएको सेवा आंशिक रूपमा पुनः सुचारु गर्न लागिएको हो।
कार्यालय प्रमुख खिम बहादुर खड्काका अनुसार धितोबन्धक, रोक्का फुकुवा लगायत दैनिक कामकाज पुरानै भवनबाट सुरु हुनेछ। तर राजीनामा, अंशबन्डा, अंश भरपाई, हक छोड, बकस तथा गुठी सम्बन्धी कार्य भने असोज १९ गतेदेखि मात्र सञ्चालन हुनेछन्। हालका लागि साविकका १३ मध्ये केही गाविसका नजलेर बाँकी रहेका मोठ स्रेस्ता आधारमा मात्र सेवा उपलब्ध हुने जनाइएको छ। तुलसीपुर, लाहुरेचौर, मानपुर, हलवार, बयाले सिमतरा र बाघमारेको पूर्ण सेवा सुरु हुने र अन्यका हकमा आगलागीमा जलेर नष्ट नभएका मोठहरुको मात्र सेवा प्रवाह हुने कार्यालयले स्पष्ट पारेको छ।
गत भदौ २४ गतेको आगलागीमा कार्यालयका जिन्सी सामान, मोठ स्रेस्ता, तामेली मिसिल, प्रशासनिक कागजातदेखि विद्युत– नेटवर्क प्रणाली र स्टेसनरी समेत जलेर नष्ट भएका थिए। सीमित स्रोत साधनमै सेवा सुचारु गर्न लागेको कार्यालयले पश्चिम दाङका चार पालिकालाई सेवाग्राहीको सहजताका लागि सहयोग गर्न आग्रह गरेको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।