
विराटनगर, २५ भदौ। मंगलबार साँझ जेनजी आन्दोलनका क्रममा विराटनगरकाे भाटभटेनी सुपरस्टोरमा आगो लागेको छ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले बैंक एटिएम फोड्ने प्रयास गरेका थिए। एटिएम फोड्न नसकेपछि आगो लगाइएको थियो। आगो पाँच तले स्टोरमा फैलिँदा भित्र रहेका सम्पूर्ण सामान डढेर खरानी भएका छन्। जमिनमुनि पार्किङको भुइँतलामा पनि आगो बलिरहेको छ। अन्डरग्राउण्ड आगोका कारण वरिपरीको जमिन फुलिएर माथि उठेको छ र धुवाँ निस्किरहेको छ।
मंगलबार दिनभर सरकारी कार्यालयमा तोडफोड गरेपछि प्रदर्शनकारीहरूले साँझ भाटभटेनीमा केन्द्रित भएर तोडफोड सुरु गरेको जनाइएको छ। विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ, तर अहिलेसम्म पूर्ण नियन्त्रण सम्भव भएको छैन।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार