तुलसीपुर, २६ साउन । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू लगाम बिनाको घोडा जस्तै भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. ३ (क) को तुलसीपुरमा सम्पन्न बैठकमा बोल्ने सहभागीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीको निती र विधिभित्र नरहेको बताए । पार्टी एकातिर जनप्रतिनिधि अर्कोतिर हिँड्दा जनताका हरेक समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै वक्ताहरूले पार्टीको निर्देशनलाई मान्नुपर्ने बताए ।
पार्टीका नेता र कार्यकर्ताको उचित सल्लाह र सुझावलाई जनप्रतिनिधिले ग्रहण नगरी आजीवन पद पाएको जस्तो अहमता देखाउने गरेको भन्दै उनीहरूले गुनासो गरे । सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले पार्टीलाई चलायमान र गतिशील बनाउन पार्टी कमिटीका नेताहरू क्रियाशील हुनुपर्ने बताउनुभयो । चिया पसलमा खर्च गर्ने पैसा र समयलाई अध्ययन, उत्पादन र पार्टी काममा लगाउन केन्द्रिय सदस्य पाण्डेले सबैलाई आग्रह गर्नुभयो ।
क्षेत्र नं. ३ (क) का संयोजक बालकृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य रामजी मिलन चौधरी, सदस्य विनोद शर्मा, नेकपा एमाले दाङका सचिव श्याम डाँगी, प्रदेशसभा सदस्य रेखा शर्मा, तुलसीपुर नगर कमिटी अध्यक्ष रुपबहादुर खत्री, सचिव जित बहादुर खडका लगायतले बोल्नु भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।