तुलसीपुर, २ असार । तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले सीपलाई आर्थिक उत्पादनसँग जोडन आग्रह गर्नुभएको छ । तुलसीपुरमा आयोजित थाकलबाट ब्याग, टोपी र चटकी बनाउने १५ दिने तालिमको समापन अवसरमा बोल्दै मेयर खड्काले यस्तो बताउनुभएको हो । बाँच्न र बचाउनका लागि उद्यमसँग जोडिनुको विकल्प नभएको बताउँदै उहाँले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘धेरैले सीप सिक्छन् तर घरमा गएर बिसाउँछन् । सीप सिकेपछि परिवर्तन हुने काम गर्नुपर्छ । सीप मात्रै सिक्ने कुराको अन्त्य गरेर परिवर्तनमुखी काम गर्नुपर्छ ।’ मेयर खडकाले भन्नुभयो ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव बहादुर केसीले आर्थिक उत्पादन बिना समृद्ध तुलसीपुरको परिकल्पना गर्न नसकिने बताउँदै उत्पादित सामानको बजारीकरणका लागि वाणिज्य संघ सहयोग गर्न तयार रहेको बताउनुभयो । वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी वर्षातको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका –३ का वडा अध्यक्ष विजय बिक, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोल्नु भएको थियो ।
महिलाहरूलाई वन उद्यमसँग जोडेर आर्थिक रूपले सशक्तीकरण गर्ने उद्देश्यले १५ दिने तालिमको आयोजना गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख रमा खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको तालिममा ४० जना सामुदायिक वनका महिला पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा कृष्ण चौधरी रहनुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।