घोराही, १० चैत्र । संचार माध्यमलाई दिइने विज्ञापनलाई बक्सिसका रुपमा नठान्न पत्रकारहरूले राज्यका विभिन्न निकायहरूलाई आग्रह गरेका छन् । नागरिकलाई हरेक सूचना मार्फत सुसूचित गर्ने दायित्व राज्यको भएको बताउँदै उनीहरूले मिडियाले सरकार र नागरिकलाई जोड्नका लागि पुलको काम मात्र गरेको बताए । न्यूनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वयमा घोराहीमा भएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीतिका विषयमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘राज्यले नागरिकलाई सूचना दिनुपर्छ । उसको सामाजिक उत्तरदायित्व र कर्तव्य पनि हो । संचार माध्यमले तिमिहरुका सूचना हामी जनतासम्म पुर्याउँछौ भनेर मागेको विज्ञापनलाई आफ्नै गोजीबाट झिकेर दिएजस्तो गर्ने, बक्सिस ठान्ने वा मागी खाने जस्तो नसोच्न राज्यका सबै निकायलाई अनुरोध गर्दछु ।’ नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले सेटीङका भरमा सरकारी विज्ञापनहरू जिल्ला बाहिरका मिडियामा गइरहेको बताउँदै यसको पारदर्शिता र समावेशिता अनिवार्य हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले आफूखुशी केहि मिडियालाई लाखौ रुपैयाँ बाँडेर लुटतन्त्र मच्चाइरहेको बताउँदै यसलाई रोक्नुपर्ने बताउनुभयो । दाङमा संचार माध्यमहरू बन्द हुने अवस्थामा पुगेको बताउँदै रेग्मीले महासंघले मिडिया प्रवर्द्धनका लागि विशेष पहल गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य लिला शाहले पछिल्लो समय पत्रकारिताको आकर्षण घट्दो क्रममा रहेको बताउँदै पत्रकारहरूलाई आर्थिक रूपले सक्षम बनाउन संचार माध्यमलाई बलियो बनाउने बहस सुरु गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताउनुभयो । अझै पनि मिडियाले पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिँदा एउटै पत्रकारले धेरै मिडियामा काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै न्यूनतम पारिश्रमिकका कुरा गर्दा पत्रकारहरुको सिप र क्षेमतामाथि पनि प्रश्न उठ्ने भएकाले पत्रकारले आफुलाई पदीय जिम्मेवारी अनुसार परस्कृत गर्न आवश्यक रहेको बताउनुभयो ।पत्रकार महासंघ लुम्बिनी प्रदेशका शुक्रऋषि चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकारहरू सीता अधिकारी, अजयदीप शर्मा, छवि पुरी प्रेम नारायण आचार्य लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।