बाँके, २७ बैशाख । बाँकेमा गोली प्रहार गरी लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो ।
परियारको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । यस्तै, सोही ठाउँका २७ वर्षीय शरणबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागूऔषधको ठुलो कारोबार भइरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर कारोबारी भाग्न खोजेका थिए । पक्राउ परेका लागूऔषध कारोबारीका साथबाट प्रहरीले ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।