किनेर दाउरा बाल्न नसक्नेलाई निःशुल्क दाउरा दिने 

तुलसीपुर, ५ माघ । दाङको अश्वारा सामुदायिक वन उपभोक्ता समूह तुलसीपुर–८ अश्वाराले गरिब तथा विपन्न वर्गका उपोक्तालाई निशुल्क दाउरा दिने भएको छ । वन समूहको भवनमा आज बसेको सर्वदलीय बैठकले किनेर दाउरा बाल्न नसक्ने गरिब तथा विपन्न उपभोक्तालाई टोल विकास संस्थाको सिफारिसमा १० कुईन्टलसम्म निशुल्क दाउरा दिने निर्णय गरेको सचिव निमबहादुर खड्काले जानकारी दिनुभयो । बैठकले माघ ११ गतेसम्म उपभोक्ता कार्ड नविकरण गर्नुपर्ने र १५ गतेदेखि कार्ययोजना अनुसार वनको व्यवस्थापन गर्ने जनाएको छ ।

वन व्यवस्थापन गर्दा निस्किएका दाउरालाई प्रति कुईन्टल ६५ र बलाबली प्रति हात २० रुपैयाँका दरले उपभोक्तालाई वितरण गर्ने निर्णय गरेको छ । वन समूहका अध्यक्ष यम प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले सिमा अतिक्रमण नियन्त्रण, अग्नि रेखा निर्माण, कटानछपान लागि प्रकृया अघि बढेकाे समेत निर्णय गरेको छ ।

सो अवसरमा अमृतपुर सामाजिक उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ कवर, रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारी, मायालु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रविण चौधरी, वन समूहकी पूर्व अध्यक्ष शुरमा बस्नेत, अन्नपूर्ण टोल विकास संस्थाका भीष्म भण्डारी, चाहना टोलका पवन खड्का, मायालु टोलका राजेश चौधरी, चेतना टोलका मङ्गलसिंह रोका लगायतले वन संरक्षणमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रमको विषय प्रवेश कोषाध्यक्ष टोपबहादुर विकले गराउनु भएको थियो ।।  

 

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया