तुलसीपुर, २० मंसिर । तुलसीपुर खानेपानी र नगर विकास कोषका बीच ऋण सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको रोहबरमा दुवैपक्ष बीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा, उपमहानगरको तर्फबाट मेयर टीकाराम खड्का र तुलसीपुर खानेपानीको तर्फबाट अध्यक्ष यमकान्त भण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।
योजना निर्माण गर्न लाग्ने कुल ५६ करोड, ९० लाख २४ हजार रकम मध्य १४ करोड, २२ लाख ५६ हजार रुपैयाँ नगर विकास कोषले ऋण उपलब्ध गराउने भएको छ । वार्षीक ५ प्रतिशतका दरले हुन आउने ऋण तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १८ वर्षमा नगर विकास कोषलाई व्याज र साँवा सहित तिर्नु पर्नेछ ।
बाँकी ३९ करोड ८३ लाख १६ हजार ८ सय रुपैयाँ नेपाल सरकारको अनुदान र २ करोड ८४ लाख तुलसीपुर खानेपानीको लगानीमा योजना सम्पन्न गरिने छ । तुलसीपुर खानेपानीले २० वर्षलाई पुग्नेगरि बबईबाट लिफ्ट गरेर पानी तुलसीपुरमा ल्याउन लागेको छ । आयोजना निर्माणका लागि भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालिले २०७९ असार २८ गते सम्झौता गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका इन्जिनियर सुन्दर कुमार वलीले जानकारी दिनुभयो । कार्तिक महिनाबाट निर्माण कार्य सुरु गरेको निर्माण प्रालिले सम्झौता गरेको ३ वर्षमा निर्माण कार्य पुरा गर्नुपर्ने छ ।
आयोजना सम्पन्न भएमा १० हजार धारा वितरण गरिने र त्यसबाट ५० हजार उपभोक्ता लाभान्वित हुने संस्थाका सचिव शेवकराम भण्डारीले बताउनुभयो । लिफ्टीङ मार्फत तुलसीपुरमा पानी ल्याउन बबई नदिमा तीनवटा सम्पवेल निर्माण गरिने छ भने तुलसीपुर –१२ कचिलामा पानी प्रशोधन केन्द्र ट्रिटमेन्ट प्लान्ट, २ लाख २५ हजार देखि ४ लाख ५० हजार लिटर क्षमताका रिजर्भ टङ्की निर्माण गरिने छ ।।






