अमेरिकाले “मूल्य चुकाउनुपर्ने” चीनको चेतावनी

एजेन्सी, १८ साउन । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति “खराब“ भएको भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको छ । उहाँले चीन चुप नबस्ने बताउनुभयो । मङ्गलवार अबेर ताइवान पुग्नभएकी पलोसी बुधवार त्यहाँको संसद्मा पुग्नु भएको छ । ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको बीबीसीले लेखेको छ ।

अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ । पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन । तर यो भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी रहेको र बेइजिङको लामो समयदेखि आलोचक रहँदै आउनु भएको छ । चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ ।
उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले “मूल्य चुकाउनुपर्ने“ चेतावनी पनि दिएको छ । ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ । चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।” मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ । उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू “कुनै पनि परिस्थितिका लागि तयार रहेको” जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ । अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन ।तर उसले ताइवानसँग “मजबुत अनौपचारिक” सम्बन्ध रहेको बताउँछ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया