अमेरिका जाँदै गरेका ५० जनाको शव लरीभित्र भेटियो

ह्वाइट हाउसले भन्यो– भयानक हृदयविदारक घटना

बीबीसी, १५ असार । अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले “गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना“को परिणाम भनेका छन् । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण“ भएको बताउनुभएको छ । टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका थिए । अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ ।

मृतक कुन देशका ?
शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ । थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् । आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई “अत्यन्त दुःखद“ भन्नुभएको छ ।

लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो। सान एन्टोनियो अमेरिका–मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ । मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन् ।
वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।

“उनीहरूका परिवार थिए… अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए, “सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भन्नुभयो–“यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन ।”

एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए । केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए ।

सहरको दमकल सेवाका प्रमुख चार्ल्स हुडले ट्रक खोलेर हेर्दा शवहरूको थुप्रो देखिएको प्रसङ्ग बताउँदै त्यस्तो कल्पना नै नगरी त्ययहाँ पुगेको बताउनुभयो । गर्मी याममा सान एन्टोनियोमा खपिनसक्नु गर्मी हुन्छ ।सोमवार त्यहाँको तापक्रम ३९.४ डिग्री सेल्सीअस पुगेको थियो । मृतकहरू आप्रवासी भएको ठानिएको छ । गर्मी सहन नसकेर वा पानीको अभाव भएर उनीहरूको मृत्यु भएको हुनसक्ने ठानिएको छ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया