काठमाडौं , २६ चैत्र । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन ।
भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो ।
‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरिकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन्,’ प्रवक्ता उपाध्यायले भन्नुभयो, ‘निगमसँग रहेको मौज्जात र मूल्य स्थिरिकरण कोषमा रहेका सबै रकम सकिएपछि पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ ।’
पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रुपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ । चैत्र २२ गते अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्योहोर्नु परेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७८÷७९ को हालसम्म ३३ अर्ब रुपैयाँ घाटामा रहेको छ ।






