ऐतिहासीक सुकिदह मेला तथा भलिबल प्रतियोगिता सुरु

तुलसीपुर ४ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ सुकिदहमा ऐतिहासीक मेला तथा दोस्रो वडा अध्यक्ष कप प्रतियोगिता २०७८ सुरु भएको छ ।विगत दुई वर्षमा कोरोना माहामारी कारण स्थगित भएको मेला यस पटक भने आयोजना गरिएको छ । २०७६ सालमा कोरोना माहामारी नहुदा वडा कार्यालयको आयोजनामा पहिलो पटक ऐतिहासीक महोत्सव तथा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

कोरोना माहामारीको जोखिम भएपनि सामान्य अवस्था जस्तै भएकाले वडा कार्यालयको सहयोगमा समाज सुधार युवा क्लबको आयोजना तथा सुकिदह टोल विकास संस्था र सुकिदह सामुदायिक वन उपभोक्ता समुहको सहप्रायोजकमा मेला तथा भलिबल प्रतियोगिता सुरु भएको छ । क्लवका अध्यक्ष प्रभात थापाको अध्यक्षता तथा वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)को प्रमुख आतिथ्यतामा उदघाटन गरिएको छ । वडा अध्यक्ष रानाले व्यानर पढेर तथा भलिबल खेलाडीलाई हस्तान्तरण गरी मेला र खेलकुदको संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

मेला तथा भलिबल प्रतियोगिता भोलि (सोमवार) सम्म संचालन हुनेछ । प्रतियोगितामा वडाका ठुलाचौर सामुदायिक वन समुह, न्याउली सामुदायिक वन समुह,कालिका सामुदायिक वन समुह, सुकिदह सामुदायिक वन समुह र खुजुवारानी सामुदायिक वन समुह गरी पाँच वटा सामुदायिक वनले भाग लिएका छन् । जसमा प्रथम हुनेलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । दुई दिन सम्म संचालन हुने कार्यक्रममा सोरठी नाँच÷थारु नाँच लगाएत विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया