बीबीसी, १५ साउन / अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गर्नु भएको छ ।
उहाँले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गर्नुभएको छ । सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।
बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।
बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताउनुभयो । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले भने, “मानिसहरूको मृत्यु भइरहेको छ र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्नेछ।“
बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताउनुभयो । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट निकालिने छैन।
ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो। गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ।