बाइडन र पुटिन बीच छलफल

बीबीसी, ३ असार / अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनिभामा भएको उनीहरूको वार्ताको प्रशंसा गरेका छन्। तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ’समान धारणा’ राखेको बताए।

छलफलमा के भयो
दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो। वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताए।

रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए। पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको छैन। सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएका थिए।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया