बाँच्दैन भन्ने लागेको थियो तर बाँचे मेयरसाव !

तुलसीपुर,७ जेठ । ‘बाँच्दैन क्या हो भन्ने लागेको थियो मेयरसाव बाँचे’ खितिक्क हाँस्दै तुलसीपुर उपमहानगरपालिका –३ रानागाउँ निबासी महबिर वलीले भन्नुभयो । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालमा उपचारपछि निको भएर घर फर्किन लाग्नुभएका ३७ बर्षका वलीले नगर प्रमुख घनश्याम पाण्डेसंग विदाई हुने क्रममा गरेको संवाद थियो यो ।

विदाईको क्रममा नगर प्रमुख पाण्डेसंग कुरा गरिरहदा वलीको आँखामा खुशीका आँसुहरु टिलपिल गरिरहेका थिए । ‘राप्ती प्रादेशिक अस्पतालबाट आउँदा बाँच्चु भन्ने लागेको थिएन । त्यसमा पनि तपाँईलाई कोरोना लागेको छ । यहाँ उपचार हुँदैन कोरोना अस्पतालमा छिटै जानुस भनेर डाक्टरहरुले बारम्बार भन्थे,’ वलीले भन्नुभो –‘बेलझुण्डी कोरोना अस्पतालमा सोध्यो अक्सिजन पनि छैन बेड पनि छैन भन्छन् । त्यसपछि कहाँ जाने ? श्रीमती पनि रुन थालिन । म पनि अब यत्ति रहेछ मरिने भयो भनेर आश मारेको थिए । तीन नम्बर वडा अध्यक्ष विजय विकले यहाँ ल्याएछि बाँच्ने आशा पलाएको हो ।’

कोरोना लागेपछि छरछिमेक र आफन्त पनि नजिक नआउने, सहजै बिरामीले उपचार नपाउने र अस्पतालको गेटमा पुगेर ठाउँ छैन भन्दै फर्किनु पर्दा बिरामीको त्यतिबेला नै आधा प्राण गए जस्तो हुने वलीले बताउनुभयो । कोभिड बाहयकका अस्पतालहरुमा अमानविय व्यवहार गर्ने गरेको प्रत्यक्ष आफुले भोगेको बताउँदै वलीले बिरामीलाई मिठो बोलिबचन र ढाडस दिएपनि धेरै आत्मबल बढ्ने र स्वास्थ्यमा सुधार आउने उहाँको भनाई छ ।

खोकी लाग्ने, ज्वरो आउँने र स्वासप्रस्वासमा समस्या देखिएपछि पिसिआर चेक गराउँदा वलीलाई बैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो । २७ गते कोरोना आइसोलेसनमा भर्ना भएका उहाँ बुधबार डिस्चार्ज हुनुभएको हो । नगर प्रमुख पाण्डेले स्वास्थ्य सामग्री सहित उहाँलाई विदाई गर्नुभएको थियो । यसरी वली जस्तै मेट्रो अस्पतालबाट निको भएर घर फर्किनेको संख्या २६ जना पुगेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया