भारतमा एकैदिन करिब ३ लाख कोरोना संक्रमित

एजेन्सी, ६ वैशाख । भारतमा एकैदिनमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ ।

आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् भने दोस्रो नम्बरमा नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा संक्रमित भेटिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले भारतमा एक सय जनालाई कोरोना परीक्षण गर्दा १६ जनालाई संक्रमण भेटिने गरेको छ । भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १ लाख ७८ हजारले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया