आफ्नै बुबाद्धारा यूएईकी राजकुमारी बन्धक !

एजेन्सी, ६ फागुन / दुबई — संयुक्त अरब इमिरेट्स (यूएई) का शासककी छोरीलाई आफ्ना बुबाले बन्धक बनाएको खबर सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले चासो देखाएको छ । यूएईकी राजकुमारी लतिफा आफ्नो देश छाडी भाग्ने प्रयास गरेपछि बुबाले सन् २०१८ देखि बन्धक बनाएका लतिफाको आरोप छ । आफ्ना साथीहरूलाई गोप्य रूपमा पठाएको भिडियोमा लतिफा अल मक्तुमले आफूलाई पिताले ‘बन्धक’ बनाएर राखेका र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी थिइन् ।

लतिफाको भिडियो सार्वजनिक भएसँगै अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघमाथि विश्वव्यापी दबाब बढ्दै आएको छ । यूकेले त्यस्तो भिडियो सार्वजनिक हुनु ‘निकै चिन्ताजनक’ रहेको प्रतिक्रिया दिएको छ । ‘यसबारे हामीलाई गम्भीर चासो छ,’ यूकेका विदेशमन्त्री डोमिनिक राबले भनेका छन् । उनले उक्त घटनाबारे राष्ट्रसंघका विकसित हुने हरेक घटनालाई ‘यूकेले निकै नजिकबाट नियाल्ने’ बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले राजकुमारी लतिफालाई बन्धक बनाइएको विषयमा यूएईलाई चाँडै नै सोधपुछ गर्ने जनाएको छ । ‘हामी यसबारे निश्चित रूपमा यूएईसँग प्रश्न उठाउनेछौं,’ कार्यालयका प्रवक्ता रुपर्ट कोलभिलले भने । लतिफाको भिडियो विश्लेषण गरिएपछि यसबारे राष्ट्रसंघीय निकायले अनुसन्धान गर्न सक्ने उनले बताए । लतिफालाई नियन्त्रणमा लिएकाे  करिब एक वर्षपछि  गोप्य रूपमा दिइएको मोबाइल फोनमा उनले भिडियोहरू रेकर्ड गरेकी बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया