आगलागीमा एकै परिवारका चारको मृत्यु

नयाँ दिल्ली, २३ असार । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति मृतक र एक घाइते अवस्थामा फेला परेका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । आगलागीको कारण स्वासप्रस्वासमा आएको समस्याको कारण ती व्यक्तिको मृत्यु भएको प्रहरीको अनुमान रहेको समाचारमा जनाइएको छ ।

आगो उक्त भवनभरि नै फैलिएकोले आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकलाई तत्काल परिचालन गरिएको प्रहरीले जनाएको छ । विद्युतीय लाइनमा आएको खराबीको कारण सो आगलागी भएको प्रहरीले थप जानकारी दिएको पनि समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति : २०७४ असार २४ गते शनिवार
प्रतिक्रिया