फ्रान्समा गरिएको चक्कु प्रहार ’आतङ्कवादी हमला’

एजेन्सी, १४ कार्तिक । फ्रान्सको निस शहरमा एउटा गिर्जाघरभित्र चक्कु आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ।  निस शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले विख्यात “नोट्र(डाम गिर्जाघरको मुटुमै आतङ्कवादी हमला“ भएको बताएका छन्।

प्रहरीले गोली हानेर त्यसको केहीबेरमै सन्दिग्धलाई गिरफ्तार गरेका थिए। नगर प्रमुख एस्ट्रोजफीका अनुसार सन्दिग्धले अरेबिक भाषामा बारम्बार अल्लाहु अक्बर (ईश्वर महान् छन्) भनेका थिए।

अनुसन्धान
प्रहरीका अनुसार मृतक तीनमध्ये दुई जनालाई गिर्जाघरभित्र मारिएको थियो। राष्ट्रपति एमानुएलले माक्रोँ घटनास्थलको निरीक्षण गरेका छन्।

उनले गिर्जाघर तथा विद्यालहरूमा सुरक्षाका लागि हजारौँको सङ्ख्यामा फौज परिचालन गरिने बताएका छन्। त्यहाँको संसद्‍मा एक मिनेट मौनधारण गरिएको छ जहाँ प्रधानमन्त्री जँ क्यासटेक्सले बिहीवार रातिदेखि कार्यान्वयनमा आउने लकडाउनका उपायबारे जानकारी गराइरहेका थिए।

फ्रान्सका प्रतिआतङ्कवादसम्बन्धी अभियोजनकर्ताहरूले घटनाबारे अनुसन्धान शुरू गरेका छन्। एस्ट्रोजफीले यसै महिनाको शुरूतिर कक्षामा पैगम्बर मुहम्मदका विवादास्पद कार्टुन देखाएका एक फ्रेन्च शिक्षकको हत्याको घटनासँग पछिल्लो आक्रमणलाई दाँजेका छन्।

प्रहरीले चाहिँ निसमा गरिएको आक्रमणको उद्देश्य थाहा हुन नसकेको जनाएको छ। यद्यपि फ्रेन्च व्यङ्ग्य पत्रिकाले पैगम्बर मुहम्मदको कार्टुन प्रकाशित गरेकोमा राष्ट्रपति माक्रोँले बचाउ गरेपछि मुस्लिम बहुल केही देशमा भएका प्रदर्शनबीच पछिल्लो घटना भएको छ।

कतिपय देशले फ्रान्सका उत्पादनहरू बहिष्कार गर्न आह्वान गरेका छन्।

निस आक्रमणबारे के थाहा छ?
मृतकमध्ये दुई जनामाथि गिर्जाघरभित्रै आक्रमण गरिएको थियो।

एक वृद्ध महिला र पुरुषलाई उनीहरूका घाँटी काटिएको अवस्थामा फेला पारिएको थियो। भागेर नजिकको एउटा क्याफेसम्म पुग्न सफल अर्की महिलामाथि कैयौँ पटक आक्रमण गरिएको पाइएको थियो।

निस हमला

पछि जानकारीमा आए अनुसार घटना लगत्तै एक प्रत्यक्षदर्शीले शहरद्वारा स्थापित विशेष सुरक्षा प्रणाली अन्तर्गतको अलार्म बजाएका थिए।

गिर्जाघरनजिकै बस्ने एक प्रत्यक्षदर्शीले  भने, “थुप्रै मानिसहरू सडकमा कराइरहेको हामीले सुन्यौँ। घटनास्थलतर्फ प्रहरीहरू आइरहेको र गोली चलाइरहेको हामीले झ्यालबाट देख्यौँ।“ भन्दै  बीबीसीले लखेकाे छ  ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया