कतारको एयरपोर्टमा महिला यात्रीको कपडा उतारेर जाँच गरियो

कतारले माग्यो माफी

कतारले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीसँग आपत्तिजनक तरिकाबाट गरेको जाँचका लागि माफी मागेको छ। घटना अक्टोबर २ को हो। दोहास्थित विमानस्थलमा एक नवजात बालिका फोहोरको डब्बामा फालेको अवस्थामा फेला परिन्। बच्चाको आमा पत्ता लगाउन एयरपोर्टमा उपस्थित कैयौ महिलाहरुको कपडा उतारेर जाँच गरियो।

करीब १० उडानका महिलाले यो जाँचपछि मात्रै गन्तव्यमा जान पाएका थिए। अस्ट्रेलियाको सरकारले यी विदेशी महिलामा कम्तीमा १८ जना अस्ट्रेलियाका नागरिक भएको तथ्य बाहिर ल्याएको छ। यो घटना पनि अष्ट्रेलियाका मिडियाले नै बाहिर ल्याएका हुन्।

अष्ट्रेलियाली मिडियाका अनुसार दोहाबाट सिड्नीतर्फ गइरहेको एक फ्लाइटमा सवार सबै महिलालाई फ्लाइटबाट उत्रिन आदेश दिइएको थियो। अनि एक एम्बुलेन्समा लगियो। जाँचभन्दा पहिला अण्डरवेयर उतार्न भनियो। प्रत्यक्षदर्शीका अनुसार कैयौ महिला आत्तिएका थिए। अस्ट्रेलिया सरकारले उनीहरुको स्वास्थ्य र मनोबल टुट्न नदिन पहल ग¥यो।

कतारले माग्यो माफी

कतार सरकारले एक वक्तव्य जारी गरेर महिला यात्रुलाई भएको अप्ठ्यारोका लागि खेद व्यक्त गरेको छ। वक्तव्यमा भनिएको छ, ’फोहोरको डब्बामा प्लास्टिकको झोलाभित्र शिशु भेटिएपछि उनका अभिभावकको खोजीमा आसपासका उडानमा पनि जाँच गरिएको हो। यस भयानक अपराधका अभियुक्त भाग्न नदिन तत्कालै जाँच गरिएको हो। कतार यो कारवाहीबाट कसैको निजी स्वतन्त्रताको उल्लंघनप्रति खेद व्यक्त गर्दछ।’

कतारका सरकारका अनुसार शिशु अहिले स्वस्थ र सुरक्षित छ। घटनाको व्यापक र पारदर्शी जाँचका लागि निर्देशन पनि दिइएको छ।कतारमा भएको आपत्तिजनक जाँचको घटना यात्रुले अस्ट्रेलियाको सरकारलाई जानकारी गराएपछि बाहिर आएको हो।

अस्ट्रेलियन विदेशमन्त्री मरिस पायनले कुल १८ महिलाको जाँच गरिएको जानकारी दिएकी छन्। सरकारले यो घटनालाई यौन उत्पीडन भन्नु भन्दा पनि परिस्थितिजन्य परिवेश भनेको छ। विपक्षी नेताले भने उत्पीडन भन्दै यो घटनालाई उठाइरहेका छन्।

अस्ट्रेलियामा यो घटनालाई संघीय पुलिसले हेरिरहेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया