फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बङ्गलादेशमा प्रदर्शन

काठमाण्डौ,१२ कात्तिक । बङ्गलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बङ्गलादेशमा विरोध प्रदर्शन भएको हो ।प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुतला जलाएको बीबीसीले जनाएको छ ।

म्याक्रोले फ्रान्सेली पत्रिका (शार्ली एब्दो) मा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेपछि इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध विरोध प्रदर्शन भइरहेको सामाचारमा उल्लेख गरिएको छ ।प्रहरीको अनुमान अनुसार फ्रान्सविरुद्धको विरोधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । यो कार्यक्रमको आयोजना इस्लामी आन्दोलन बङ्ग्लादेशले गरेको हो । यो बङ्ग्लादेशको ठूलो इस्लामिक पार्टी मध्ये एक हो ।

प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारको नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्रोँलाई सजाय दिन माग गरिरहेका थिए ।गएको सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गर्नुभएको थियो । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दोआनको आलोचना गरेका थिए ।

यस महिनाको सुरुवातमा पैगम्बर मोहम्मदलाई लिएर छापिएको एक कार्टुनको विषयमा फ्रान्समा एक शिक्षकको शरीरबाट शिर अलग गरेर हत्या गरिएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया