सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून हीकाे निधन

एजेन्सी । सोल( दक्षिण कोरिया )। दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून–हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

सन् २०१४ देखि मुटुरोगी रहेका उनको सोलस्थित घरमा आइतवार निधन भएको द कोरियन हेराल्डले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि उपचाररत थिए । साथै उनले अस्पतालको बेडमै हालैमात्र जन्मदिनको वार्षिकोत्सव मनाएका थिए । बिरामी भएपछि उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।

सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष लि कून–हीलाई सम्झिरहने बताएको छ । एक स्थानीय व्यवसायबाट उनले सामसुङलाई विश्वकै अग्रणी कम्पनीमा पु¥याएका थिए ।

सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून–ही ७ अर्ब ९० करोड अमेरिकी डलरको व्यक्तिगत सम्पत्तिसहित दक्षिण कोरियाकै सर्वाधिक धनाढ्य हुन् । विश्वकै सर्वाधिक सफलमध्येको एक व्यावसायिक समुह सामसुङको स्थापना लि ब्युङ–चुलले सन् १९३८ मा गरेका थिए । सामसुङले प्रारम्भिक वर्षहरूमा सुकाएको माछा व्यापार गर्थ्यो ।

अहिले भने सामसुङ ग्रूप इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन, निर्माण, वित्तीय र पानीजहाज निर्माताको रूपमा वार्षिक साढे २ खर्ब डलरआम्दानी गरिरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया