अल कायदाका वरिष्ठ नेता मस्री मारिए

एजेन्सी / काबुल — अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको जानकारी दिएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए ।

उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको मस्री अल कायदाका दोस्रो नेता भएको बताइएको छ । उनी इजिप्टका नागरिक हुन् । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २०० भन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए ।शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया