ढुंगा, गिट्टी, बालुवा उत्खनन् अनुगमण समितिको संयोजकमा जितेन्द्रमान नेपाली

घोराही ,६ असोज / दाङमा जिल्ला अनुगमन समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले ढुंगा, गिट्टी, बालुवाउत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनरुप जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिको सदस्यहरुमा स्थानीय पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व कार्यालय र सडक पुर्वधार विकास कार्यालय प्रमुख छन् । समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी छन् ।

त्यसैगरेर बैठकले खानीजन्य पदार्थको बजार मुल्यमा एक रुपता ल्याउन जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा उप समिति समेत गठन गरेको छ । समितिले खानीजन्य पदार्थको बजार मुल्यको लागि कार्यविधि बनाउने भएको छ । उप समितिको सदस्यहरुमा आन्तरिक राजश्व कार्यालय प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि र टिप्पर व्यवसायी समितिका प्रतिनिधि छन् । उपसमितिको सदस्य सचिवमा घोराही उपमहानगरपालिका इञ्जिनियर छन् ।

नयाँ मापदण्डले नदीजन्य र खानीजन्य पदार्थको बजार मूल्य नियमन गर्न उत्खनन् लागत, कर, बजारको दूरी र निश्चित मुनाफाको आधारमा बजार मूल्य निर्धारण गर्न सक्ने अधिकार अनुगमन समितिलाई दिएको छ । बजार मूल्य भन्दा बढीमा ढुंगा गिट्टी बालुवा विक्री गरेमा विक्रीमा रोक लगाउन सक्ने अधिकार अनुगमन समितिलाई दिइएको छ ।

ढुंगा, बालुवा, गिट्टीबाट प्राप्त आयको ६० प्रतिशत सम्बन्धित स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने व्यवस्थापनि मापदण्डमा छ । ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य र खानीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न भन्दै सरकारले नयाँ मापदण्ड जारी गरेको छ । मन्त्रिपरिषद्को ५ साउनको बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७पारित गरेको थियो । बैठक अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्नभएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया