कुलमान घिसिङ पुनः नियुक्ति ‘हल्लामात्रै’

काठमान्डौ, ९ भदौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको कुरा हल्ला मात्रै भएको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषदमा मन्त्रालयबाट कुनै प्रस्ताव नगएकाले बाहिर आएको नियुक्तीको कुरा हल्ला मात्रै भएको बताए ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङको म्याद भदौ २९ गतेसम्म छ भने अहिले उनीसहित केही आकांक्षी दौडधुपमा छन् । मंगलबार एकाएक सामाजिक सञ्जालमा केवल दबाब दिनका लागि मात्रै यस्तो हल्ला फैलाएको पाइएको छ ।

प्राधिकारको कार्यकारी निर्देशकका लागि घिसिङसँगै नवीनराज सिंह, हितेन्द्रदेव शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, हरराज न्यौपाने, शान्तिलक्ष्मी शाक्य लगायतका दौडधूपमा छन् । घिसिङ आउनुअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया