बेइरुत विस्फोट: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा; उद्धार कार्य जारी

बीबीसी, २२ साउन

बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।

मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो।

कारण

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर “त्यस्तो नभएको” बताएका छन्। “विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ,” उनले भने।

विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ। बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्। उनीहरूले पछिल्लो घटना ‘नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ बताएका छन्।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया