
दाङ, ५ जेठ ।
दाङमा अतिक्रमण गरिएको करिव चार हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय दाङले अतिक्रमण हटाएर तारबार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १ मा रहेको जनता सामुदायिक वनमा विगत ३÷४ बर्षदेखि गरिएको करिव चार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सीले जानकारी दिए ।
उनका अनुसार डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय तुलसिपुरबाट सोमवार गएको गस्ती टोलीले करीब ४ हेक्टर जग्गामा भएको अतिक्रमण हटाई उक्त जग्गामा एक हजार रनिंग मिटर काडेतारले तारबार गरी वन क्षेत्र कायम गरिएको छ । जनता सामुदायिक वनका ३÷४ जना उपभोक्ताहरुले खेतिपाती गर्ने उद्देश्यले उक्त वन क्षेत्र अतिक्रमण गरेको भन्ने सूचनाका आधारमा गएको गस्ति टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको थियो । उक्त क्षेत्रमा खेतीपाति गर्न शुरु गरिएको थियो ।
उक्त वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभएको तर ३÷४ घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनीहरुको यथाशीघ्र पहिचान गरि सामुदायिक वनको स्वीकृत कार्य योजना र विधान बमोजिम घटनामा संलग्नहरूलाई कार्बाही गरि डिभिजन वन कार्यालयलाई जानकारी गराउन सव डिभिजन प्रमुख तथा समूहका पदाधिकारीहरूलाई निर्देशन दिईएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।