हात्तिपाइले विरुद्धको औषधी खानेको संख्या ७२ हजारले बढ्यो

सुधासुमन ढकाल
तुलसीपुर, २१ बैशाख । दाङमा यस बर्ष ६६ प्रतिशतले हात्तिपाइले विरुद्धको औषधी खाएका छन् । ६५ प्रतिशत जनसंख्यालाई औषधी खुवाउने न्युनतम लक्ष्य लिए पनि ६६ प्रतिशत जनसंख्यालाई औषधी खुवाउन सफल भएको अभियानका फोकल पर्सन कमल चन्दले जानकारी दिए । चन्दका अनुसार यो संख्या एक प्रतिशले बढी हो । ‘हामीले यस बर्ष दाङमा ६५ प्रतिशत जनसंख्यालाई हात्तिपाइले विरुदको औंषधी खुवाउने लक्ष्य लिएका थियौं ६६ प्रतिशत पुग्यो, चन्दले भने हामी न्युनतम लक्ष्यमा पुग्न सफल भयौं ।’ यो संख्या अघिल्लो बर्षको तुलनमा ७२ हजारले बढी हो । अघिल्लो बर्ष ३ लाख ३५ हजार ४ सय ५ जनाले हात्तिपाइले रोग बिरुद्धको औषधी खाएका थिए । जसमा महिला १ लाख ७९ हजार ७२ जना र पुरुष १ लाख ५६ हजार ३ सय ३३ जना रहेका थिए । तर यस बर्ष भने ४ लाख ७ हजार ८ सय २६ जनाले हात्तिपाइले रोग बिरुद्धको औषधी खाएको कार्यालयले जनाएको छ । जस्मा महिला २ लाख १५ हजार ४७ जना र पुरुष १ लाख ९१ हजार ७ सय ७९ जना रहेका थिए ।


अभियानका बारेमा प्रचार प्रसार तिब्र हुनु, बढि मात्रामा स्वास्थ्यकर्मिहरु परिचालित हुनु, धेरै ठाउँमा अभिमुखिकरण कार्यक्रमहरु आयोजना गरिनु, अनुगमनलाई तिब्र पारिनु, नागरिकहरुमा जनचेतना जाग्नु, मिडियाहरुको सहयोगका कारणले आंैषधी खानेको संख्यामा बृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । २०६८ सालको जनगणना अनुसार दाङको जम्मा जनसंख्या ६ लाख ११ हजार बढि छ । दाङमा अघिल्लो वर्षको सर्वेक्षण अनुसार जम्मा जनसंख्याको १२ प्रतिशत अर्थात ७२ हजार जनामा हात्तिपाइले रोगको समस्या रहेको र यसलाइ २ प्रतिशतमा झार्ने लक्ष्य कार्यालयको रहेको छ ।
२०७४ सालमा पनि औषधी खुवाए पश्चात गरिने अनुगमनको नतिजा अनुसार अभियानलाई निरन्तरता दिने वा बन्द गर्ने भन्ने निर्णय गरिने फोकल पर्सन कमल चन्दको भनाई छ । “जम्मा जनसंख्याको २ प्रतिशतमा मात्र समस्या देखिएमा त्यसले अरुलाई सार्न सक्दैन , यदि २ प्रतिशतमा झ¥यो भने यो अभियानलाई निरन्तरता दिनुपर्दैन”, फोकल पर्सन कमल चन्दले भन्नुभयो । २०७३ सालको चैत महिनाको ५, ६ र ७ गते चलाईएको सो अभियानमा २ हजार ४ सय बढि जनशक्ति परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख २१ गते बिहिवार
प्रतिक्रिया