इरान विमान दुर्घटनास् ’भुलवश’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

बिबिसी, २६ पुष

इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण“ विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा “मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको“ निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन्।

उक्त घटनालाई “ठूलो विपत्ति र अक्षम्य गल्ती“ भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। तर इरानले त्यसको खण्डन गरेको थियो। इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई ’हास्यास्पद’ भन्दै त्यो अमेरिकाको ’मनोवैज्ञानिक कारबाही’ को अंश भएको दाबी गरेका थिए।

इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको प्रमाण भेटिएको दाबी
इरानमा विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु
तर “सम्भवतस् त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको“ अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबावमा परेको थियो।

क्षेप्यास्त्रले विमानमा यसरी प्रहार गर्‍यो
अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए।

दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।

 

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार
प्रतिक्रिया