महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको आरोपमा चारजनालाई पुलिसले गोली हान्यो

हैदराबाद,२० मंसीर ।महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारजना अभियुक्तलाई भारतिय पुलिसले सोहि ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको राती महिला डाक्टरलाई बलात्कार गरेर हत्या गरेका थिए । तेलंगना पुलिसले सोहि हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो ।

हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहरु सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको भारतिय सन्चार माध्यमले जनाएका छन् ।

पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल लगेको समाचारमा उल्लेख छ । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया