अदालत जाँदै गर्दा बलात्कार पीडितलाई जलाइयो

एजेन्सी

भारतको उत्तर प्रदेशमा एक बलात्कार पीडित युवतीलाई अदालत जाँदै गर्दा जलाइएको छ । आरोपितबाट नै जलाइएकी एक २३ वर्षीया युवती बाँच्नका लागि अस्पतालमा संघर्ष गरिरहेकी छन् ।

उत्तर प्रदेशमा गत मार्चमा आफूलाई दुई जनाले बलात्कार गरेको बताएकी ती महिला मुद्दाको बहस सुन्नका लागि अदालत जाँदै गर्दा सो घटना घटेको हो । आगो लगाइएपछि गम्भीर घाइते भएकी युवतीको अस्पतालमा उपचार भइरहेको छ । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएकामध्ये एकजना अर्को बलात्कारको घटनामा संलग्न भएको आरोप लागेका व्यक्ति समेत रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गर्नुका साथै नजिकैको खेतमा तानेर लगेका थिए । उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभर विरोध भइरहेको छ ।
केहि दिनअघि मात्रै भारतमा दक्षिणी सहर हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कारपछि हत्या भएको थियो । उनी गत बुधवार साँझ स्थानीय समय अनुसार ६ बजेतिर आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चर भएको र एक ट्रक ड्राइभरले मद्दत गरिरहेको फोनमार्फत परिवारलाई जानकारी दिएकी थिइन् । त्यसको केही समयपछि उनीसँगको सम्बन्ध टुटेको थियो । बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुनी एक दूध व्यापारीले फेला पारेका थिए ।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन् । तर त्यस्ता हिंसाका घटना कम भएका संकेत देखा परेका छैनन् ।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभरी प्रहरीले ३३ हजा ६ सय ५८ बलात्कारका घटना भएको सार्वजनिक गरेको थियो । यो औसतमा दैनिक ९२ घटना हुन् ।

सन् २०१२ मा दिल्लीमा एक छात्राको सामूहिक बलात्कार र हत्याको घटनापछि उब्जिएको जनआक्रोशले भारत सरकार बलात्कारविरुद्ध कडा कानुन ल्यान बाध्य भयो । सो कानुनले एसिड आक्रमण, कसैलाई निरन्तर पछ्याउने वा लुकीलुकी हेर्ने जस्ता कार्य्विरुद्ध सजाय बढाएको छ । तर यो कानुन अनुसार एक पुरुषले आफ्नी श्रीमतीमाथि जबरजस्ती यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिदैन । कानुनको यो विषयलाई विवादास्पद मानिएको छ ।

नयाँ बनाइएको कानुनले अधिकांश घटनामा जेल सजाय बढाएको छ । बलात्कारको पटके दोषमा वा बलात्कारले कोमाको स्थिति निम्त्याएमा मृत्युदण्डको सजाय हुने व्यवस्था छ । बलात्कारको परिभाषा पनि विस्तार गरिएको छ । जसअनुसार शारीरिक रूपमा पीडितले प्रतिरोध नगरेको भन्दैमा त्यसलाई सहमति नमानिने उल्लेख छ ।
भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्यांकअनुसार सन् २००८ मा २१ हजार ४ सय ६७ बाट सन् २०१६ मा ३८ हजार पुगको छ । ह्यूमन राइट्स वाचको विवरणअनुसार महिला तथा बालिकाले यौन हिंसाको रिपोर्ट लेखाउन प्रहरी चौकी वा अस्पताल जाँदा उल्टै अपमान सहनुपर्छ । उनीहरूले सधैं उचित कानुनी वा चिकित्सकीय परामर्श वा सहयोग नपाउने गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया