भालुवाङ २८ जेठ । स्वास्थ्य कार्यालय दाङका सिकलसेल कार्यक्रम फोकल पर्सन उज्ज्वल कुमार पाैडेलले सिकलसेल एनिमिया र थालेसेमिया जस्ता रोगहरू नियन्त्रणका लागि विवाहपूर्व स्वास्थ्य परीक्षण अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित सिकलसेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरणलाई सहजीकरण गर्दै फोकल पर्सन पाैडेलले सिकलसेल र थालेसेमिया वंशाणुगत रोग भएकाले रोगको पहिचान र रोकथामका लागि परिवार तथा समुदाय स्तरबाट नै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो।
“यदि विवाह गर्न लागेका दुवै व्यक्तिमा सिकलसेल वा थालेसेमियाको वाहक अवस्था रहेको छ भने जन्मिने सन्तानमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना उच्च हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले विवाहअघि नै रक्त परीक्षण गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनु नै भविष्यका सन्तानलाई यस्ता रोगबाट बचाउने सबैभन्दा प्रभावकारी उपाय हो।”
पौडेलले नेपालका विभिन्न जिल्लामा सिकलसेल रोगको प्रभाव देखिँदै गएको उल्लेख गर्दै यसको पहिचान, परीक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको बताउनुभयो। उहाँका अनुसार सिकलसेल रोगले शरीरमा अक्सिजन प्रवाह गर्ने रातो रक्तकोषिकालाई प्रभावित बनाउने भएकाले बिरामीमा बारम्बार स्वास्थ्य समस्या, शारीरिक कमजोरी तथा अन्य जटिलता देखिन सक्छ। उहाँले रक्तजन्य रोगको प्रभाव कम गर्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सिकलसेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगलाई सामान्य रूपमा लिन नहुने बताउँदै समयमै परीक्षण र उपचारको व्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता रोगको प्रभाव न्यूनीकरणका लागि आगामी आर्थिक वर्षको बजेट मार्फत आवश्यक कार्यक्रमहरू समावेश गरिने जानकारी दिनुभयो।
अध्यक्ष विष्टले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी बनाउँदै आधुनिक स्वास्थ्य सेवाको पहुँच गाउँघरमै पुर्याउने लक्ष्य रहेको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले सिकलसेल एनिमिया, थालेसेमिया तथा अन्य रक्तजन्य रोगको प्रकृति, लक्षण, जोखिम, रोकथाम तथा उपचारका उपायबारे जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका लागि समुदायस्तरमा आवश्यक सचेतनाबारे जानकारी गराउनुभयो। राउतले सरकारले यस्ता रोगबाट प्रभावित बिरामीका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था रहेको समेत जानकारी दिनुभयो। उहाँले अभिमुखीकरण कार्यक्रमले गाउँघरमा लुकेर रहेका बिरामीको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।






