तुलसीपुर, १२ जेठ । दाङको तलसीपुर उपमहानगरपालिकाले चालु आर्थीक बर्षको हालसम्म ३९ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको आय–व्यय तथा बजेट प्रगति विवरण हेर्दा कुल २ अर्ब ११ करोड ३६ लाख २१ हजार २६१ रुपैयाँ बजेट विनियोजन भएकोमा तेस्रो त्रैमासिकसम्म ८३ करोड ३१ लाख १० हजार ४०५ रुपैयाँ २४ पैसा मात्रै खर्च भएको छ । यो कुल बजेटको ३९.५१ प्रतिशत हो । विवरणअनुसार चालुतर्फ १ अर्ब ३३ करोड ४१ लाख ३७ हजार १०३ रुपैयाँ २६ पैसा विनियोजन गरिएकोमा १ अर्ब ३७ लाख १२ हजार ६७० रुपैयाँ १५ पैसा निकासा भएको थियो । त्यसमध्ये ६८ करोड ५४ लाख ९६ हजार ६८७ रुपैयाँ २४ पैसा खर्च भएको देखिएको छ । चालु खर्चको प्रतिशत ५१.५० रहेको छ ।
यस्तै पूँजीगततर्फ ७७ करोड ९४ लाख ८४ हजार १५८ रुपैयाँ विनियोजन गरिएकोमा ३० करोड १९ लाख ११ हजार ५३६ रुपैयाँ २१ पैसा निकासा भए पनि खर्च भने १४ करोड ७६ लाख १३ हजार ७१८ रुपैयाँ मात्रै भएको छ । पूँजीगत खर्च १९ प्रतिशतमा सीमित हुँदा विकास निर्माणका कामले गति लिन नसकेको स्पष्ट देखिएको छ । क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकास क्षेत्रमा १५.२१ प्रतिशत, हो । सामाजिक विकास क्षेत्रमा ५२.७७ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा २०.११ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३७.३० प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ४९.५१ प्रतिशत भएको छ ।
वर्षको तीन चौथाइ समय बितिसक्दा पनि पूँजीगत तथा पूर्वाधार विकासतर्फ खर्च न्यून रहनुले विकास योजनाको कार्यान्वयनमा प्रश्न उठाएको छ । स्थानीयवासीले ढिलो काम, अन्तिम समयमा हतारमा योजना सम्पन्न गर्ने प्रवृत्ति र बजेट फ्रिज हुने जोखिम बढेको बताएका छन् ।।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।