२०८३ जेष्ठ १० गते आइतवार

इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाण्डौ, १० जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्त्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको छ । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ । ट्रम्पले यसबारे थप विवरण भने खुलाउनुभएको छैन । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघायी हमानेहले पनि अमेरिकी र इरानबीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताउनु भएको छ । तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको आरोप इरानले आरोप लगाइरहेको छ ।

बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, युएई, कतारसहित अन्य खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनुभएको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए । अप्रिलको शुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ । यसको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नुभएको छ । दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो क्षति भइसकेको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया