२०८३ जेष्ठ १ गते शुक्रवार

राप्ती लाईफ केयरको सहयोग : सृजनसिल आविका विद्यार्थीलाई सामग्री र स्वास्थ्य सेवामा विशेष छुट

दाङ १ जेठ !  तुलसीपुर–१ छोटेस्थित श्री सृजनसिल आधारभूत विद्यालयमा बिहीबार भावनात्मक र प्रेरणादायी वातावरणबीच विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती लाईफ केयर हस्पिटल प्रा.लि. ले विद्यालयमा अध्ययनरत ३८ जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीलाई झोला, कापी, पेन्सिल, ब्रस र मञ्जन वितरण गरेको हो।
विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो। शैक्षिक सामग्री हात परेपछि बालबालिकाहरूको अनुहारमा खुशी स्पष्ट देखिन्थ्यो। सामान्य सामग्री भए पनि यसले उनीहरूको पढाइप्रतिको उत्साह अझ बढाएको अभिभावकहरूले बताएका छन्।
कार्यक्रम केवल सामग्री वितरणमै सीमित रहेन, विद्यालय र अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्यको ऐतिहासिक सम्झौता समेत भएको छ। सम्झौताअनुसार अब विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अस्पतालमा उपचार गराउँदा ओपिडी तथा इमर्जेन्सी सेवा निःशुल्क पाउनेछन्। साथै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले अन्य स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्ने भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि रहनु भयका  राप्ती लाईफ केयर हस्पिटल प्रा.ली का अध्यक्ष हरि प्रसाद रिजाल ले विद्यार्थीहरू राष्ट्रका भविष्य भएकाले उनीहरूको शिक्षामा गरिएको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने बताउनुभयो। “बालबालिका काँचो माटोजस्तै हुन्, जसरी गढ्यो त्यसरी नै भविष्य निर्माण हुन्छ,” उहाँले भन्नुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक सन्तोष परियार ले आर्थिक तथा भौगोलिक कठिनाइबीच संघर्ष गरिरहेका विद्यार्थीका लागि अस्पतालको सहयोग अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। एउटा कापी वा कलमकै अभावमा कुनै विद्यार्थीको भविष्य अधुरो नहोस् भन्ने भावनाले गरिएको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
अभिभावकहरू रुपकली डि.सी. आले, गीता खड्का र यमप्रकाश पुन मगरले शैक्षिक सामग्रीसँगै स्वास्थ्य सेवामा छुटको व्यवस्थाले आफूहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
प्रधानाध्यापक सन्तोष परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक प्रेम नेपालीले राख्नुभएको थियो भने सञ्चालन शिक्षक दिलीप डाँगीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया