२०८३ बैशाख २ गते बुधवार

अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत

काठमाडौ, २ बैशाख । अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर लगाउने चेतावनी दिएपछि चीनले त्यसको कडा प्रतिआक्रमण गर्ने सन्देश दिएको छ ।चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट अमेरिकाले सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । इरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पले चेतावनी दिनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम ‘सीएनएन’ ले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आउँदो केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि द न्युयोर्क टाइम्स ले पनि चीनले इरानलाई मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो ।

तर चीनले यी सबै आरोपलाई पूर्णरूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू पूर्णतया बनावटी भएको प्रतिक्रिया दिनुभयो । उहाँले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने बताउनुभयो ।

चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । विशेषगरी चीन इरानको प्रमुख तेल खरिदकर्ता हो । यद्यपि दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विश्लेषकहरूकाअनुसार चीनले इरानसँगको सम्बन्धलाई मुख्यतः आर्थिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया